रुपन्देही ,
असार १० –
रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक समेत संलग्न रहेको पाइएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेका छन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक जीवन ज्ञवाली पक्राउ परेका छन् ।
घटना असार २ गते साँझको हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताएका छन ।
यो समूहले आफूहरुलाई उद्दार गर्नुको साटो सामूहिक बलात्कार गरेको पीडितको दाबी छ । त्यसमा उद्दारका लागि गएका जीवन ज्ञवालीले पनि संलग्न रहेको जाहेरीमा उल्लेख छ ।
गाउँका १४ जना युवा तथा पुरुष घटनास्थलमा पुगेका र उनीहरुले युवतीलाई जोगाउनुको साटो बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताउँनुभयो ।
रातको समय भएकाले बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको पीडित युवतीहरुले बताएका छन् । घटनाको मुख्य दोषी मानिएका चौधरी अहिले फरार छन् । अरु १२ युवाको भने पहिचान हुन सकेको छैन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक ज्ञवालीलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । ज्ञवालीले आरोप अस्वीकार गरेका छन् ।
ती दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् ।
अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए । भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीय जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।
गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ छ।
पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।