१२ असार,
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
२०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।
नतिजा कसरी हेर्ने ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.moest.gov.np, , परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.neb.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, मा गएर नतिजा हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।
यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।
एसईईमा सहभागी हुनेमा छात्राको संख्या धेरै छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिएका थिए।
सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए ।
अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए ।
परीक्षाका लागि एक हजार ९ सय ६९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।