असार १४,
अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समिति चितवनले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको हो ।
सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।
यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट रु ११५ पाउँदै आएका थिए।
सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताउनुभयो ।
किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो ।
चितवनमा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो। यो कृषकका लागि गरिएको मूल्यवृद्धि भएकाले उपभोक्ताका लागि लागू हुदैन ।
अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालक लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए।
एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।
कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।
नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ। यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ।
चितवनमा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो। यो कृषकका लागि गरिएको मूल्यवृद्धि भएकाले उपभोक्ताका लागि लागू हुदैन ।