काठमाडौ –
असार १६ ,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमको व्यवस्थापनमा देखिएका त्रुटि सच्याएर अघि बढ्न निर्देशन दिनुभएको छ ।
राष्ट्रको पहिचान र गौरवसँग जोडिएको नेपाल वायु सेवा निगमका व्यवस्थापनमा देखिएका त्रुटि सच्याउन उहाले निर्देशन दिनुभएको हो ।
निगमको ६१ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने टिप्पणी गर्दै सबै जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्न आग्रह गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सिङ्गो मुलुकको अर्थतन्त्रलाई सकारात्मक उत्थान गर्ने उपयुक्त माध्यमको रूपमा रहेको निगमको प्रभावकारी सञ्चालन र सेवा स्तरीकरणमा ध्यान पुग्न नसकेको भन्दै दुख प्रकट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने समेत उल्लेख गर्नुभयो ।
उहाले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न समेत गर्नुभयो ।
ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नु भयो ।
आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । निगमले अहिले ३७ अर्ब घाटामा रहेको जनाएको छ ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिनुभयो ।
निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा सात अर्ब ५४ करोड १० लाखभन्दा धेरै नाफा कमाएको छ ।