गुल्मी
असार १७
गुल्मी को रेसुङ्गा नगरपालिकाको उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्कको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा रेसुङ्गा ७ को उनाएचौरमा खेल मैदानसँगै पर्यटकीय पार्क निर्माण कार्य सुरु भएको हो ।
सदरमुकाम तम्घासबाट झण्डै छ किलोमिटर टाढाको दुरीमा पर्ने उनाएचौरमा केही वर्ष पहिले सामान्य रुपमा खेल मैदान बनाईएको थियो ।
तम्घासमै ठूला खेलहरु आयोजना गर्न अन्य ठाउँमा खाली ठाउँ नभएपछि उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्क बनाउन निर्माण कार्य थालिएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेले जानकारी दिनुभयो । अहिले उक्त खेल मैदान निर्माणको कामलाई तीब्र पारिएको छ ।
हाल खेल मैदान निर्माण हुन लागेको उनाएचौरमा मन्दिरहरुसँगै नगरकै उत्कृष्ट खेल मैदान र पर्यटकीय पार्क बनाईने पाण्डेको भनाइ छ । खेल मैदान निर्माणको लागि प्रदेश नम्बर ५ सरकारको ‘एक नगरपालिका, एक खेल मैदान’ कार्यक्रम अन्र्तगत रु ७२ लाख र पर्यटकीय पार्क निर्माणको लागी प्रदेशको वन मन्त्रालयबाट रु १२ लाख बजेट विनियोजन भएको छ ।
नगरभित्र बस्ती बिस्तारले कतैपनि खाली ठाउँ नभएको अवस्थामा खेलप्रति चासो राख्ने युवाहरुलाई यो खेल मैदानले खेल खेल्न सहज हुनेछ ।
खेल मैदानको लम्बाई ७० मिटर र चौडाई ९० मिटर रहेको छ । खेल मैदानलाई सम्पन्न गर्न यसको डिपिआर तयार गरिदैँ छ ।
खेल मैदान सम्पन्न गर्न करिब २० करोड बढि लागत लाग्ने अनुमान नगरपालिकाले गरेको छ ।
हाल भइरहेको निर्माण कार्यले खेल मैदानको जमिनको माटो कटिङ्ग सम्पन्न गर्ने भएको छ । नगर भित्रको ठूलो खेल मैदानसँगै यहाँ पार्क र पर्यटकलाई आकर्षित गर्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने ट्रीहाउस निर्माण पनि भइरहेको छ ।
उक्त स्थानमा धेरै वर्ष पहिले विमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिएपछि विमानस्थल सिमीचौरमा निर्माण गरिएको हो ।
खेल मैदान र पर्यटकीय पार्क बन्न सुरु भएसँगै स्थानियले यस क्षेत्रको विकासमा महत्व राख्ने भन्दै खुसी व्यक्त गरेका छन ।