असार १८
छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।
नवलपरासीको देवचुलीमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत देवचुली नगरपालिका –१६, कुमारवर्ती चोकमा लु २ ख १४ ९३ नम्बरको बसले सोहि ठाउँका ७५ वर्षीय राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
बुधबार नै मध्यविन्दु नगरपालिका –८ , फूलबारीमा ना ७ ख ६८ ४१ नम्बरको बसलाई ना ७ ख ६३ नम्बरको ट्रक ठक्कर दिँदा बसमा सवार १२ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
सामान्य घाइते १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै कपिलवस्तुमा दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका चोरखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ९३२६ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको ना६ख ९९१० नम्बरको बस गयराति ठोकिएका हुन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार दुवै बसमा गरी ५४ जना सवार रहको र ४० जना घाइते भएका थिए।
२० जना सामान्य घाईते भएकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि राति नै घर पठाइएको छ भने २० जनाको चौराह अस्पताल बुटवलमा उपचार भइरहेको छ।
यस्तै अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन्।
चार जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए।
बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो।
विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई ‘साइड’ दिने क्रममा सडक भासिँदा बस खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार सुरु गरेको शाहीले बताए।