बुटबल
असार १८
प्रदेश ५ सरकार र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।
मुख्यमन्त्री पोखरेलले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए ।
त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।
मुख्यमन्त्री पोखरेलले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले छेन्दु–भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।
यस्तै प्रदेश ५ मा तीन ठूला औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै लगानीकर्तालाई पनि आह्वान गरे । मुख्यमन्त्री पोखरेलसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच पनि भेटवार्ता भएको छ ।
भेटमा उपमहानिर्देशक सङले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति चीनको सम्मान रहेको बताएका छन् ।
मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउ पिनबीच पनि भेट भएको छ ।
भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउ पिनले सिचुवानमा कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको र कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको जानकारी गराएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेलसहितको टोली १० दिने भ्रमणमा छ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने छन् ।