काठमाडौ
असार १८ –
सामान्य अवस्थाभन्दा केही दिन ढिलो गरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन । मनसुन सक्रिया नहुँदा देशभर गर्मी बढेको छ। तीन दिन यता मनसुनी वायु सक्रिय हुन नसक्दा ठूलो पानी परेको छैन्।
सामान्य समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन सकेको छैन ।
मध्य असार भइसक्दासमेत वर्षा नहुँदा किसानहरुले धान रोप्न पाएका छैनन् ।
मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भए पनि पर्याप्त मात्रामा वर्षा भने भएको छैन । सामान्यतया पहाडी भूभागमा दिउँसोपछि सामान्य वर्षा भए पनि ठूलो पानी पर्न सकेको छैन ।
मनसुन अहिले कमजोर अवस्थामा छ । अझै केही दिन सक्रिय हुने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
मौसम विभागले पछिल्लो ३० वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । यसैका आधारमा यो वर्षको मनसुन १० दिन ढिलो गरी जुन २० मा मात्रै नेपाल भित्रिएको थियो ।
यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ ।
नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० औसत वर्षालाई बुझिन्छ ।
सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने यो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।
आज देशका अधिकांश स्थानको मौसम बद्ली हुने भएपनि पुर्वी, मध्य र पश्चिमका केहि स्थानमा हल्का तथा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ।