काठमाडौ
असार १९
अबको तीन दिन ठूलो वर्षाको जोखिम नहरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा
पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन् ।
असार १९ देखि २१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले यस्तो बताएको हो ।
बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको उहाँको भनाइ छ ।
आज दिउँसो देशभर सामान्य बदलि भई केहि भु भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने, पश्चिम तथा मध्यका एकदुई स्थानमा भने भारी बर्षाको सम्भावना रहेको जनाइएको छ ।
यस्तै मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको उहाँले बताउनुभयो ।
स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको उहाँले बताउनुभयो ।
बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ । नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।