काठमाडौ,
असार १९
सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
आज सर्वोच्च अदालत पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।
ठकुरीलाई डिल्ली बजार कारागार चलान गरिएको छ। बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरे लगत्तै ठकुरीलाई डिल्ली बजार कारागारमा जेल चलान गरिएको छ।
सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।
राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् ।
संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा सुडानको डार्फरमा जाने सङ्गठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदाललते प्रमाणित गरेको थियो ।
पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो भने ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो ।
सर्वोच्च अदालतको फैसालामा उल्लेख भएअनुसार पूर्वआईजीपी ठकुरीको पालामा एपीसी खरिद नभएको भए पनि त्यसवेला मिसनामा खटिएका कमाण्डर राजेन्द्रसिंह भण्डारी, कमलसिंह बम, रामप्रसाद श्रेष्ठ र मोहनराज शर्माले सामानको गुणस्तरमाथि प्रश्न उठाउँदै पटकपटक मौखिक र लिखित जानकारी दिँदा पनि उनले भुक्तानी रोकेनन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएको सुडान घोटाला सम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।
उनले आफ्नो निवेदनमा जेलमा नबसी जरिवाना भुक्तानी गरी पाऊँ भनी निवेदन दिएका थिए। तर निवेदन अस्वीकार सर्वोच्चले उनलाई जेल चलानका लागि पठाएको हो।