काठमाडौ ,
असार २० –
नेपालले यु – १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ ।
सिंगापुरलाई पराजित गरेसगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।
सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतीशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिँदा तिलकले ५ दशमलव १ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । त्यस्तै रसिद खान र सागर ढकालले समान एक९एक विकेट बाँडे ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रित गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । ओपनर रित गौतमको सानदार शतक र खडगबहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट रितले खडगसँग मिलेर १३१ रनको शतकीय साझेदारी गरेका थिए ।
४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट चुकेका उनले १२ चौका प्रहार गरे ।
त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमशः १ र ७ रनमात्र जोड्न सके । पाँचौं नम्बरमा आएर कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले ३२६ रनको योगफल तयार गरेको हो ।
यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।
समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।