काठमाडौ ,
असार २० –
तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको छ ।
भारतले चर्को दबाव दिएपछि सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको हो ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बताएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले शुक्रबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा यसको जानकारी दिनुभएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री खनालले भारत र तेस्रो देशबाट आयात हुँदै आएको तरकारी र फलफूलको विषादी परीक्षण सरकारले फिर्ता लिएको पुष्टि गर्नुभएको छ ।
यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।
नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो ।
तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो ।
नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।