काठमाडौ
असार २१
आज मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको बताउनुभयो ।
मध्य र पूर्वी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । विशेषगरी दिउँसो मौसम बदली अझ सक्रिय हुने पूर्वानुमान गरिएको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ ।
गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ । मौसमविद् राजु प्रधानाङ्गाले गत वर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबिच
समयमा पानी नपर्दा मुलुकभरमा रोपाइँ प्रभावित भएको छ ।
पानी नपरेपछि किसानका खेत बाँझै छन् भने राखिएको धानको बीउसमेत जोगाउन समस्या भएको छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो । गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो ।
यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
वार्षिक नेपालमा १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।