बागलुङ,
असार २१ –
सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान बनाउन बागलुङका सहकारी कर्मीहरुले माग गरेका छन् ।
९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिबार आयोजना गरेको करसम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले बहुउद्देश्यीय सहकारीहरुलाई २० प्रतिशत नै कर निर्धारण गर्नुपर्ने भनाइ राखेका छन । उनले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले २० प्रतिशत नै कर निर्धारण गर्नुपर्ने बताएका हुन ।
सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रतिशत तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नुपर्ने बताएका छन ।
उनले आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिए ।