असार २२
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुदैछ ।
आजबाट सुरु हुने बैठकमा पार्टीको प्रदेश तथा स्थानीय तहमा संरचना निर्माण वा म्याद थप्ने भन्ने बारेमा छलफल हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बस्ने बैठकमा विषेश गरेर पार्टीको नियमावली, भातृ संगठनहरुमा नियुक्ती, जागरण अभियान लगायतका विषयमा पनि छलफल हुने तय भएको छ ।
पार्टीले केही महिना अगाडी संशोधिन विधान अनुसार नियमावली बनाउन नेता रमेश लेखकको नेतृत्वमा बनाएको नियमावली मस्यौदा समितिले नियमावली मस्यौदा आजको बैठकमा पेस गर्ने भएको छ ।
नियमावली पारित भएपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, दोस्रो चरणका लागि योजना बनाउने, नेविसंघ लगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा संस्थापन पक्षले तय गरेको छ ।
बैठकको एजेण्डा तय गर्न र बैठकमा प्रस्तुत हुने रणनीतिका बारेमा संस्थापन पक्षका नेताहरुको हिजो छुट्टै बैठक बसेको थियो ।
हिजो नै महामन्त्री डा। शशांक कोइराला निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका देउवाइतरका नेताको बैठक बसेको थियो ।
केन्द्रीय समिति बैठकको बस्नुअघि हिजो कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त रहे । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा हिजो छलफलमा गरेका थिए ।
पौडेल पक्ष तत्काल महाधिवेसनमा जानुपर्ने दवाव दिने तयारीमा छ । पार्टीको प्रादेशिक संरचनादेखि भातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएका हुन ।
पार्टीको संक्रमणकालीन संरचना बनाउनुभन्दा पनि महाधिवेशनकै प्रक्रिया थाल्नुपर्ने जोड दिँदै आएको सभापतिइतर पक्षले देउवा संक्रमणकालीन संरचना बनाएर महाधिवेशन टार्ने पक्षमा रहेको आरोप लगाउँदै आएको छ । सभापति देउवा पक्षधरले भने अन्तरिम संगठन नभएसम्म महाधिवेशनको प्रक्रिया थाल्न नसकिने दाबी गर्दै आएको छ ।