बुटवल ,
असार २२-
रुपन्देहिमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको विद्युत कार्यालय अगाडी मोटरसाइकलले ठक्कर दिँदा बृद्धको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा जादै गरेको लु १४ प ८५३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षिय दिनानाथ बेल्वासेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राती मोटरसाइकको ठक्करबाट गम्भिर घाइते भएका सिद्धार्थनगर नगरपालिका ८ का बेल्वासेको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा आईतवार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस्तै टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
काभ्रेको पाँचखालमा बा ४ ख ६०६६ नम्बरको टिपरको ठक्करबाट धुलिखेलतर्फबाट आउँदै गरेको प्रदेश ३–०२ ००१प०२९१ नम्बरको स्कुटीमा ठक्कर दिएको हो।
टिपरको ठक्करबाट चौतारा साँगाचोकगढी ७ विष्णु दंगालको ज्यान गएको छ भने गम्भीर घाइते भएका स्कुटरमा सवार ३१ वर्षका भगवान दंगालको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
ठक्करपछि टिपर चालक फरार रहेको पाँचखाल प्रहरी कार्यालयका सइ शिव पराजुलीले जानकारी दिनुभयो। प्रहरीले फरार चालको खोजी कार्य सुरु गर्नुका साथै टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाले बताउनुभयो।
यस्तै चितुवाले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छन्।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत गाभरको जंगलमा चितुवाले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी हुन्।
राप्तीसोनारी गाउँपालिका १, गाभरकी ३२ वर्षीया पुष्पा तामाङलाई चितुवाले आइतबार आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेको छ।
जंगली च्याउ खोज्न जंगल गएको बेला चितुवाले आक्रमण गरेको तामाङले बताइन्। तामाङसँगै रहेका अन्य महिलाले हो–हल्ला गरेपछि चितुवा भागेको थियो।
घाइते तामाङको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागे पनि उनी खतरामुक्त रहेको अस्पताललाई उद्धृत् गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।