काठमाडौं
असार २४
नेपाल विद्यार्थी संघ नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
सोही कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिनुभयो ।
यस्तै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति अर्घाखाँचीले प्रधानमन्त्रीलाई उपहार स्वरूप तरकारी पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत प्रधानमन्त्रीलाई उपहार पठाएको जिल्ला अध्यक्ष भरतमणि भट्टराईले बताए ।
तरकारी बुझदै प्रजिअ लामिछानेले प्रधानमन्त्री समक्ष पुर्याउने बताएका थिए ।
नेविसंघको केन्द्रीय कार्यक्रम अनुसार आज प्रशासन मार्फत तरकारी बुझाउने, राकेजुलुस, प्रचारप्रसार लगाएतका कार्यक्रम नेविसंघले तय गरेको छ ।
आज देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।