पाल्पा,
असार २५,
पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका १ सिद्देश्वरकि ७० वर्षीया भुमा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो।
उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो।
प्रहरी उपरीक्षक जिसीका अनुसार तानसेनदेखि सिद्देश्वरतर्फ जाँदै गरेको बोलेरो जीप रिब्दीकोट गाउँपालिका ३ खस्यौलीमा मंगलबार साझ दुर्घटना भएको हो।
जीप सडकभन्दा करिब ३० मिटर तल खसेको छ। घाइते सबैको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।
यस्तै ओखलढुंगामा बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।
बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
गएराति ना ६ ख ५२०७ नम्बरको ट्रकमा लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराज बहादुर छहरी मगरको मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल रूपन्देही बाहिनी नं ५ दरबन्दी भई बीओपी बोगडी रूपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।