काठमाडौ
असार २५ –
केहि दिनदेखि देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले बर्खे झरी सुरु भएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने उहाँको अनुमान छ ।
बर्खे झरी सुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको छ । बिहीबार प्रदेश १, २, ३ र गण्डकी प्रदेशका नदीमा बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यस अघि पहिरो गइरहने ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका बाढीविज्ञ बिनोद पराजुलीका अनुसार कन्काई, कोशी, कमला, बागमती नदीमा बाढी आउने सम्भावना देखिएको छ ।
महाशाखाले बाढीको जोखिम रहेका ठाउँका स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाउने गरेको छ ।
त्यस्ता सन्देश मोबाइलमा आए तत्काल सुरक्षित ठाउँमा जान महाशाखाका बाढीविज्ञ पराजुलीले आग्रह गर्नुभयो । उहाँले नदी किनार तथा खोला आसपासमा बसोबास गर्नेहरु सतर्क रहन पनि आग्रह गर्नुभएको छ ।
हिजो मंगलबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
यस्तै ३ दिनदेखी वर्षाका कारण बाँकेका विभिन्न ठाउँ डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका हुन् ।
आज पनि बिहानैदेखी पानी परिरहेको छ ।