काठमाडौ
असार २६
आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मध्य र पूर्वी नेपालका केही स्थानमा पनि भारी वर्षा हुने विभागको भनाइ छ ।
महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जानकारी दिनुभयो ।
लगातार पानी परेपछि बाढी र पहिरोको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले सूचना निकाले जानकारी दिएको छ । आज राती देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ भने देशको केहि स्थानमा भारी वर्षा हुनेछ ।
बिहीबार चुरेबाट बहने खोलामा बाढी आउने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
बिहीबार बेलुकीपछि भने पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रमा पानीको सतहले सतर्कता तह पार गर्ने देखिएको पनि महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।
मौसमी बुलेटिनमा लेखिएको छ, ‘नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।’