असार २६
उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा एउटा यात्रु बस खस्दा डुबेका ३२ जना नेपालीको उद्धार गरिएको छ।
सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेका सबै यात्रु सिमलाबाट नेपाल फर्किरहेका थिए।
शारदानगर पुलिस चौकीका प्रभारी महेश गंगवारका अनुसार केही यात्रुलाई सामान्य चोट लागेको छ।
तर नहरमा डुबेका सबै नेपालीलाई जीवितै निकालिएको हो । गंगवारका अनुसार अर्को यात्रु बसबाट सबै यात्रुलाई उपचारपछि नेपाल पठाइएको छ।
यसैबिच भारतमा भवन भासिँदा तीन नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।
भारतको बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको हो । अन्य ७ जना घाइते छन् ।
बुधबार राती २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।
घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु खड्का र चार वर्षीया छोरी अनुष्का खड्का रहेका छन् ।
पार्किङ सहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको बताइएको छ । ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।