आषाढ शुक्ल पूर्णिमा , ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ।
गुु को अर्थ अन्धकार र रु को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक
गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ,
मनुस्मृतिमा। आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ।
मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ।
सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ।
गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ।
गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ।
मंगलबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ।
आज नै राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ ।
सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन ।
आजको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने भएकोले यसलाई यस्तो नाम दिइएको हो ।
चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।
विज्ञानका अनुसार चन्द्रमा, पृथ्वी र सूर्य एकआपसमा सीधा रेखामा भएको खण्डमा ग्रहण लाग्छ । यदि सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएको खण्डमा त्यसको छायाँ चन्द्रमामा पर्छ र चन्द्रमा देखिँदैन । यो अवस्थालाई चन्द्रग्रहण भनिन्छ ।
खगोल वैज्ञानिकका अनुसार आजराति लाग्ने ग्रहण सन् २०१९ को अन्तिम चन्द्रग्रहण हो । ज्योतिषका अनुसार यो ग्रहणको प्रभावले प्राकृतिक विपत्तिको कारण व्यापक क्षतिको आशंका गरिएको छ । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।