काठमाडौ
असार ३१ –
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।
गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।
विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन् ।
यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।
हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।
उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैबिच मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेकोले मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मंगलबारदेखि विस्तारै कम पानी पर्न थाल्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा दक्षिणतिर सर्दै गरेकाले अब हिजोअस्तिकोभन्दा कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
मंगलबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । पहाडी क्षेत्र र तराईका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
अब पानी पर्दा दिउँसोको तुलनामा राति धेरै पानी पर्ने मौसमविद्को अनुमान छ । दिउँसो जलवाष्पयुक्त हावा सञ्चित हुने र राति पानी पर्ने मौसमविद्हरु बताउँछन् ।
बुधबार बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले मध्य र पश्चिममा पानी पर्ने क्रम घट्दै जाने मौसमविद्को अनुमान छ । पूर्वमा भने अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
यस्तै लगातारको वर्षापछि तराईका जिल्लाहरूमा सर्पको बिगबिगी देखिएको छ । बासस्थानमा पानी भरिएपछि सुख्खा ठाउँ खोज्दैै यस्तो बेलामा सर्प बाहिर निस्कने विज्ञहरूको भनाइ छ ।
रौतहट जिल्ला अस्पतालमा १५ जनाले उपचार गराइरहेका छन् ।
रातको समयमा बाहिर निस्कनुपरेमा टर्च र लट्टी लिएर हिँड्ने, खुट्टामा लामो खालको जुत्ता लगाउने र हातमा पञ्जा लगाएर काम गर्ने, भूईँमा नसुत्ने, रातको समयमा झुलको प्रयोग गर्ने, घर वरपरको वातावरण सफा राख्ने, प्वालहरू बन्द गर्नाले पनि सर्पबाट जोगिन सकिने भेरी अस्पताल नेपालगञ्जका डा पारस पाण्डेले बताउनुभयो ।