काठमाडौ ,
साउन २ –
गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ । बुधबार बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ । बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ । तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । निरन्तरको वर्षाका कारण देशका अधिकांश भू भाग प्रभावित भएको छ । डुबान, पहिरो र बाढीका कारण विशेषगरी क्रमशः प्रदेश १, २ र ३ बढि प्रभावित भएको छ ।
५५ लाख जनसङ्ख्या रहेको प्रदेश २ र ४६ लाखको हाराहारीमा रहेको प्रदेश १ मा बाढी र डुबानका कारण हजारौ मानिसहरु प्रभावित भएका छन् । सरकारले प्रभावित क्षेत्रकालागि विभिन्न ११ जना सम्पर्क व्यक्ति तोकेको छ ।
चिकित्सकका अनुसार बाढीले पिउने पानी र वातावरण दूषित हुनगई बाढीग्रस्त क्षेत्रमा संक्रमण हुन जोखिम उच्च रहन्छ । झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिने भएकाले नागरिक आफै पनि सचेत रहनुपर्ने विज्ञको सुझाव छ ।
यसैबिच मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालबाट दक्षिणतर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कमजोर भएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार सामान्यदेखि आंशिक बदलीको सम्भावना भए पनि स्थानीय वायुको असरले कुनै कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
महाशाखाले बिहीबार देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरेको छ । मनसुनी गतिविधिमा स्थानीय वायु मिसिएकाले काठमाण्डौ उपत्यकाका साथै मध्य र पूर्वका केही ठाउँमा बिहीबार बिहानै ठूलो पानी परेको मौसमविद् अर्यालले बताउनुभयो ।