काठमाडौ ,
साउन २ –
विप्लव नेतृत्वको नेकपा वार्तामा आए रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने सरकारले जनाएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकारले रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने बताउनुभएको छ ।
विप्लवसँगको वार्ताको पछिल्लो परिणामबारे आज मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।
मन्त्रीपरिषद्बाट निर्णय गरेर वार्ता समिति नै बनाएर सरकारले प्रयास गर्दा समेत विप्लव वार्तामा नआएको भन्दै मन्त्री बाँस्कोटाले हिंसाले कसैको पनि हित नगर्ने भएकाले विप्लवले यस विषयमा बेलैमा सोच्नुपर्ने बताउनुभयो ।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र अर्धभूमिगत नेत्रविक्रम चन्द समूहबीच अनौपचारिक वार्ता सुरु भएको भनिएको छ ।
सरकारसँग भने वार्ता सुरु भइसकेको छैन । चन्द समूहसँग कुनै न कुनै रुपमा वार्ता भइरहेको नेताहरुले बताएका छन् ।
औपचारिक वार्ताका लागि दुर्ब पक्ष एक अर्कालाई पर्खिरहेका छन् । सरकारले भने हिंसात्मक गतिविधि छोडेर वार्तामा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।
वार्तामा बस्न पार्टीका गतिविधिमाथि लगाएको प्रतिबन्ध हटाउनु पर्ने, पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा गर्नुपर्ने र सरकारले वार्ताका लागि औपचारिक पत्र लेख्नुपर्ने तीन सर्त अघि सारेको विप्लव नेतृत्वको नेकपाले भने सरकारले औपचारिक रुपमा आफूहरुलाई पत्र नपठाएको र वार्ताका विषयमा मिडियामा अनावश्यक प्रचार गरिहरेको बताएको छ ।
विप्लवको आधार क्षेत्र मानिएको पश्चिम रोल्पाका एकजना नेता सुर्यबहादुर खड्काले सरकारको आधिकारी पत्र आफूहरुलाई नआएको र आफूहरु वार्ताको विरोधि पनि नभएको बताउनुभएको हो ।
सरकारले फागुन २८ गते चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएर नेता तथा कार्यकर्तालाई व्यापक पक्राउ सुरु गरेको थियो । अनौपचारीक वार्ताले वातावरण तयार भएपछि कार्यकर्ता रिहा गरेर वार्ताको औपचारीक सन्देश दिने सरकारको तयारी छ ।
विप्लव नेतृत्वको नेकपा वार्तामा आए रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने सरकारले जनाएको छ ।