काठमाण्डौ,
साउन २ –
काठमाण्डौको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै प्रदर्शन गरिएको हो ।
स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको त्यो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रदर्शन गरेका हुन । प्रर्दशनका क्रममा उनीहरुले त्यो विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए ।
बिहान नौ बजे लोक सेवा आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा पुगेका प्रर्दशनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको त्यो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरे पनि लोक सेवा आयोगले त्यसविपरीत स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन खुलाएको दाबी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन । त्यो विज्ञापनको परीक्षा शुक्रबार ९भोलि०देखि सुरु हुँदैछ ।
आन्दोलनरत पक्षले त्यसको मुखैमा लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गर्दै त्यो विज्ञापन खारेज गर्न माग गरेका हुन । त्यस क्रममा प्रहरीले उनीहरुलाई कार्यालयको गेटबाट हटाउने क्रममा घचेटेको थियो भने प्रदर्शनकारीहरुले प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्का नाराबाजी पनि गरेका थिए ।
सरकारको सिफारिसमा गत जेष्ठ १५ गते लोक सेवा आयोगले त्यो विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ ।
आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एकदिन अगाडि खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् ।
असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतले विज्ञापनलाई यही वैधानिकता दिने निर्णय गरेपछि अब परीक्षामा कुनै बाधा नहुने भएको हो।