जुम्ला
साउन ३
जुम्ला पातारासी गाउँपालिका वडा नं –४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।
बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै कुटपिट गरेका हुन् ।
लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष माथि हातपात गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।
स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप लगाइएको छ । स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् ।
सामुदायिक वनमा पाइने सेतोचिनी चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको गाउँका स्थानीयवासीको आरोप छ । जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा रहेको छ ।
कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुटपिट भएको छैन । गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उहाँले बताउनुभयो ।
तर वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताउनुभयो ।
बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उहाँको भनाइ छ ।
वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताउनुभयो । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताउनुभयो ।
सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । रावत माथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन् । डिल्लीचौर प्रहरी इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताउनुभयो ।
जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा २०० सामुदायिक वन छन् ।
सामुदायिक वन उपभोक्ता समितिले सुशासनभन्दा कुशासनलाई बढी प्रश्रय दिएका कारण बेला बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले बताउनुभयो ।