काठमाडौं,
३ साउन –
भारतबाट पाइपलाइनमार्फत पठाइएको इन्धन शुक्रबार बिहान बाराको अमलेखगञ्ज आइपुगेको छ ।
नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्जमा खसाइएको हो । शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिए ।
बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो ।
इन्जिनियर पौडेलका आनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो ।
पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पौडेलले बताए ।
नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल९भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।
तत्काल पाइपलाइन निर्माणका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौंमा सम्झौता भएको थियो ।
सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो । निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो ।
पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ ।
अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ ।
भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए ।