नेपालको बनारस भनेर चिनिने,४ धाम मध्यको मुख्य धाम रुरुक्षेत्रधाम रिडी गुल्मीमा आगामी सोह्र श्राद्धको अवसरमा
पितृमोक्षका लागि बृहत पितृमोक्ष श्राद्ध,२१ करोड दिप प्रज्वलन लगायतका धार्मिक अनुष्ठान गरिने भएको छ ।
बालयोगेश्वर फाउन्डेसनको सक्रियतामा,सोह्र श्राद्धको अवसरमा पितृमोक्षका लागि पितृमोक्ष श्राद्ध,२१ करोड पाँचसरे दिप प्रज्वलन,
१ करोड शिवलिङ्ग निर्माण गरि पुजन,गंगा आरती,तुलादान,१ सय ८ तिर्थस्थलको जल सहित हेलिकप्टर बाट पुष्प बृष्टि,
कन्या पुजन,५१ सय कलस पुजन,श्रद्धालु भक्तजनको भुमिपुजन जेष्ठ नागरिक तथा समाजसेबि सम्मान लिलामय श्रीमदभागवत प्रवचन
लगायतका धार्मिक अनुष्ठान गरिने भएको हो ।
रुरुक्षेत्रधाम रिडीको महत्वका बारेमा प्रचार प्रसार गर्न यस धार्मिक अनुष्ठाको महत्वपुर्ण भुमिका रहने रुरु गाँउपालिका १ रिडीका वडा
अध्यक्ष रामलाल बिक र समाजसेबी गुरुदत्त ज्ञवालीले बताउनु भयो ।
पितृमोक्ष श्राद्ध,भुमिपुजन र २१ करोड दिप प्रज्वलनको लागि उपस्थित हुने श्रद्धालु भक्तजनले पितृको फोटो,श्राद्धका लागि
आवस्यक सामाग्री,घरको १ मुठ्ठी माटो पाँचसरे १०८ बत्ति लिएर उपस्थित हुनुपर्ने बताईएको छ ।
रुरुक्षेत्र धामको संक्षिप्त परिचय
प्रदेश नम्वर ५ को गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङजा जिल्लाको संगम स्थल रिडी रुरु कन्याको नामबाट रहन गएको हो ।
नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र तीर्थाटन पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक,
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ ।
रुरु अर्थात रिडीमा पितृमोक्षका लागि अन्तिम सस्कार,श्राद्धजस्ता कार्यमात्र होइन विवाह, ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ ।
रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन ।देवदत्त ऋषिले र रुरु कन्याले तपस्या गरेको स्थल हो रुरु क्षेत्र ।
संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ मृगले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो ।
रिडीमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थापित ऐतिहासिक ऋषिकेश मन्दिर छ । बाइसे र चौबिसे राज्यहरु रहेको बेलामा पाल्पामा सेन
राजाहरुको राज्य थियो । राजा मणिमुकुन्दले वि.स.१५७५ मा बनाएको ऋषिकेश मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा
निकालिने परम्परा छ । भगवान नारायणको रुपमा लिइने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पुण्य प्राप्त हुने
धार्मिक विश्वास रहेको छ ।
१६ औं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेश शिलाले निधारमा ठोकियो ।
त्यर्सै दिन राती सपनामा स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर
राख र सेवा गर भने पछि मणिमुकुन्द सेनले भेटिएको शिला अर्थात मुर्तीलाई कालिगण्डकी र रिडि खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर
निर्माण गरेका हुन । पाचँसय वर्ष पुरानो ऋषिकेश मन्दिरमा पष्लप अर्घेलीका भट्टराई वंशले पूजा चलाउँदै आएका छन् ।
रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरुक्षेत्र भनिन्छ ।
रुरुक्षेत्रमा अर्घली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरु पर्दछन । रिडी अथवा रुरुक्षेत्रको महिमा हिमवतखण्ड र
वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरुक्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा ऋषिकेशको मन्दिर र
अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरु छन् । सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका थिए । त्यहा राधाकृष्ण,विष्णु,राम,हनुमान् लगायतका
थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरु समेत छन् ।
रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो ।
त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसै गरी
देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरुकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ ।
रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।
रुरु क्षेत्रमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मुर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले
तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र
ती कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए ।
रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा,अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव,
रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर,राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा,
भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मीकस्थल रिडीमा रहेको छ ।
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्ने तीर्थाटन
पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास
तीर्थाटनका पर्यटकहरुमा छ । रिडीमा स्नान गर्न नेपालका विभिन्न जिल्लाका मात्र होइन भारतका विभिन्न स्थानबाट समेत तीर्थाटनका पर्यटकहरु
रिडीमा पुग्ने गर्दछन । माघे संक्रान्ति मेला रिडी अर्थात रुरु क्षेत्रमा अहिले पाँच दिन मेला लाग्ने गर्दछ । रिडिमा माघेसंक्रान्ति बाहेक
वैशाखे संक्रान्ति, हरिबोधनी एकादशी लगायतका विभिन्न पर्वमा समेत स्नान गन तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।
रिडीको नामाकंन बारेमा धेरै मतभेद रहेको छ । रुरु अर्थात मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले
तिनलाई रुरुकन्या भनियो । पछी तिनै कन्याले कठोर तपस्या गरी मुक्ति पाएकोले तिनै कन्याको नामबाट रुरुक्षेत्र भनियो ।
रिडी क्षेत्रको रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई रिडी क्षेत्र बन्न गएको पनि तर्क छ । त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै
तीनवटा ऋणः अर्थात देव ऋण, पित्री ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । हिमालयदेखि बग्दै आएको कालीगण्डकी रुरुक्षेत्रमा
जुन मानिसले स्नान गर्छ त्यसको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो ।
पछी ऋणी भन्ने शब्द अपभ्रश भई रिडी बन्न गएको भन्ने धारणा पनि छ । त्यस्तै अर्को मान्यता अनुसार रिडी भन्ने शब्द
मगर भाषाबाट आएको हो । खाम मगर भाषामा रि भनेको पानी र ढूट मगर भाषामा डी को अर्थ पनि पानी भन्ने हुन्छ ।
यस अर्थमा अठार मगराँत र बाह्रमगरातको सिमाना छुटयाउने पानीलाई रिडी भनिएको हो । अर्को अर्थमा मगर भाषामा री भन्नाले
कालो तथा डी भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात कालोपानी बग्ने क्षेत्र कालीगण्डकी भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि छ ।
रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिबले सतीदेविका शब बोकेर भ्रमण गर्दै जादा
उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउमा खासगरि माघे सक्रान्ती र
शिबरात्रीमामा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङजा जिल्लामा पर्दछ । रिडीमा जाने तीर्थाटनका पर्यटक
गुल्मी जिल्लाको थोर्गा तर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्दछन । गलफूलगुफा रिडी बजारबाट पाचँसय मिटर माथि रहेको छ ।
रुरु क्षेत्रमा साना ठूला गरेर १ सय भन्दा बढि मन्दिर र केहि गुफा पनि छन । जंहा दैनिक पूजा आजा गरिन्छ ।
माघे संक्रान्तिको पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ ।
रिडीको पहीचान बन्दै थोर्गेली चाकु(गुण)को लागि पनि प्रसिद्ध छ । रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा बिदेशका बिभिन्न
स्थानहरुमा निर्यात हुने गरेको छ । यो बाहेक रुकुम र बाग्लुङ जिल्लाबाट आएको कम्मल, काम्ला, राडी पाखी, वाँस तथा
चोयावाट निर्मित सामग्रीहरु,ओखरका घाँजी लगायतका वस्तुहरु किन्न सकिन्छ ।