काठमाडौ
साउन ४
गोरखा भूकम्पको ३ वर्ष पूरा हुँदा पनि भूकम्प प्रभावितहरू अझै पालमुनि बस्न बाध्य भएका छन् । सरकारले दिने आर्थिक सहायता पाउने लाभग्राही सूचीमा नाम नभएका कारण पनि भूकम्प प्रभावित अन्यौलमा परेका हुन ।
सरकारले दिने राहत रकमको प्रतिक्षामै कतिपयको दिन बितिरहेको छ भने कतिपय भूकम्प प्रभावित बस्ती स्थानान्तरणको अपेक्षामा छन् ।
अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अझै ६ सय २४ घर पुननिर्माण हुन बाँकी छ ।
पुनर्निर्माण नगरिँदा जोखिमयुक्त स्थानमा दिनरात बिताउनुपर्दा त्रास उत्पन्न हुने गरेको पिडितले बताएका छन । सरकारले भने भूकम्प प्रभावित ३२ जिल्लामा गुनासो सुनुवाइ र जोखिममा रहेका बस्ती स्थानान्तरणको काम तीब्र गतिमा भइरहेको दावी गरेको छ ।
गुनासो सुनुवाइबाट १ लाखभन्दा धेरै सङख्यामा लाभग्राही थपिएका र २ सय ७२ वटा बस्ती सार्नुपर्ने विज्ञको समूहले निष्कर्ष निकालेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
प्राविधिकका कारण लाभग्राही सूचीमा पर्नबाट कोही वञ्चित भएको भए ती समस्या समाधानको प्रक्रिया पनि चाँडै सुरु गरिने प्राधिकरणले जनाएको छ ।