गुल्मी,
साउन ५ –
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) बन्द भएको छ ।
यातायात सेवा स्थगित भएपछि गुल्मी, स्याङ्जा र पर्वत जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएका छन् ।
नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले जल यातायात स्थगित गरिएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
व्यावसायिक रुपमा १९ वर्षदेखि सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न ठाँउका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्ने र वर्षाको समयमा तीन महिना बन्द हुने गरेको छ ।
स्याङ्जाको कालीगण्डकी गाँउपालिका–७ मिर्मीबाट दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ सम्म झण्डै आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।
यातायात बन्द हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।
बर्खा सुरु भएसँगै स्टिमर सेवा बन्द हुँदा यस क्षेत्रका जनता मर्कामा परेका छन् । जल यातायात बन्द हुनुका साथै ग्रामीण सडक अस्तव्यस्त हुँदा स्थानीयवासी पैदल हिड्न बाध्य भएका छन ।