अर्घाखाँची
साउन ८ –
अर्घाखाँची मा पहिरोका कारण ५ घरपरिवार उच्च जोखिममा परेका छन्।
गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको भुवनपाटामा माथि भिरबाट आएको पहिरोका कारण ५ घरपरिवार उच्च जोखिममा परेका हुन्। एक साता देखी निरन्तर पहिरो खसेपछी स्थानिय पुर्णकला गुरुङ , चन्द्रकला बुढाथोकी, अनिता क्षेत्री , गणेश थापा , हरि घिमिरेको घर उच्च जोखिममा परेको हो। अहिले पहिरोका कारण उच्च जोखिममा रहेका ५ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको सितगंगा २ का वडा अध्यक्ष गोबर्धन थापाले बताउनुभयो।
घर माथिबाट आएको पहिरोले स्थानिय शान्ता बिकको घर र पसल पुरेर ५ लाख बराबरको क्षति पुर्रोएको छ। घर माथिबाट पहिरो आएपछी घरभित्र रहेकी शान्ता बिकले भागेर ज्यान बचाएकी थिईन्।
यस्तै बागलुङको बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेको सिरानमा जमीन चर्किएकोले मध्यपहाडी लोकमार्गको तुरतुरे खण्डमा रातिको समयमा बुर्तिवाङ तर्फ जाने र त्यताबाट दक्षिण पूर्व तिर छुट्ने सवारी साधनहरु चलेका छैनन् । स्थानीयका अनुसार मुसलधारे वर्षा भैरहेको र गत वर्ष गएको तुरतुरेको पहिरो माथी जमीन चर्किएकोले सवारीहरु बडीगाड गाउपालिकाको भीङगिठे बजारमा रोकिएका हुन् ।
बुर्तिवाङबाट छुटेने कुनै पनि सवारी साधनहरु भिङगिठे नआएको स्थानीयले बताएका छन । बुर्तिवाङ तर्फ जाने सवारी साधनहरु ९रात्रिकालीन०पनि नआएको र बुर्तिवाङ जाने सवारी साधनहरु मगलबार साँझ देही भिङगिठेमै रोकिएको स्थानीयले जानकारी दिएका छन ।
उता अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् । राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगै लगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण यी गाउँ डुबानमा परेका हुन् ।
दोलही खोलामा आएको बाढीका कारण पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो । जलसतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।