काठमाडौ
साउन ८ –
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् । लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
बुधबार साढे २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको हो ।
कांग्रेसले पनि सर्लाही घटनाको मुद्दा थाती राखेर संसद बैठक चलाउन दिन सहमति जनाएको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मुठभेडमा भएको भनिएको मृत्युको विषयलाई लिएर कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए ।
यसैबिच
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ससदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकस्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएको हो । प्रतिनिधि सभाका नेकपाका प्रमुख चसेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिए ।
‘संसदको गतिरोध हटाउने सहमति भइसकेको छ’, उनले भने, ‘हामीले नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसीद दलको बैठक बोलाएका छौँ । नेकपाको उक्त बैठकपछि दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
नेकपा र कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत असार ३० गते स्थगित भएको हो ।