बाग्लुङ ,
साउन ८ –
बाग्लुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
आज दिउँसो नवीगाउँदेखि स्यालपाखे घर जानेक्रममा उनीहरुलाइ नदीले बगाएको हो । नदीले बगाउनेमा स्थानीय नर बहादुर बिक र २२ बर्षका सेते बिक रहेको प्रहरीचौकी ढोरपाटनका असइ सिवराज सुवेदीले जानकारी दिनुभयो । दुइ मध्य नर बहादुरको शव बगाएको ठाउँदेखी करिव ३ सय मिटर तल स्थानीयले फेला पारेका छन् भने २२ बर्षका बिकको खोजिकार्य भइरहेको सुबेदीले जानकारी दिनुभयो ।
यसैबिच अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका १२ ढवाहमा एउटा घर बगाएको छ । पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिनुभयो ।
दीपकको परिवार छिमेकीको घरमा बसेका छन् । बाढीको सम्भावनालाई मध्यनजर गर्दै वारिपारि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि मंगलबार राति आएको ठूलो बाढीका कारण घर बगेको हो ।