काठमाडौ
साउन १२
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ ।
सत्तारुढ दल नेकपा मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ । स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सचिवालय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक भोली दिउँसो ३ बजेका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् ।
स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन लगातर छलफलमा जुटे। दुई अध्यक्षको छलफल निचोडमा नपुगेपछि सचिवालय बैठक पनि सोमबारसम्मका लागि सरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
नेकपाले स्कुल विभागमा देखिएको विवाद मिलाउन तीनवटा विकल्पमा छलफल गरिरहेको छ। दुई अध्यक्षले स्कुल विभागबारे तीन विकल्पमा छलफल गरेका हुन् । जसमा यो विभागलाई आफैँले राख्ने, अर्को विकल्पमा विभाग साटेर इश्वर पोखरेललाई दिने र तेस्रो विकल्पमा दुईजना नेतालाई नदिएर तेस्रोलाई दिने गरी छलफल भइरहेको छ ।
यी विकल्पमध्ये यसअघि दुई नेतालाई छाडेर स्कुल विभाग वरिष्ठ नेता झलनाथ खनाललाई दिनेबारे दुई अध्यक्षबीच छलफल भएको थियो । तर त्यसमा पनि निचोड निस्किएन। एक नेताका अनुसार यी तीनमध्ये उयुक्त एउटा विकल्पमा सहमति निकालेपछि सोमबार नेकपा सचिवालयको बैठक बस्नेछ। स्कुल विभाग प्रमुखमा नेताहरु नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाल लगायतले दाबी गर्दै आएका छन् ।