चितवन
साउन १७ –
चितवनको एक वडा कार्यालयमा आगजनी गरिएको छ ।
आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ ।
कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको हो ।
वडा कार्यालयमा शुक्रबार बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन्।
गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीका जिपमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घरअगाडि पार्किङ गरी राखेको बा १५ च ४०९९ नम्बरको जिपमा गए राति आगजनी भएको हो।
गए राति करिब ११ बजेपछि जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
आगजनीबाट जिपको पछाडिको पूरै भाग जलेर क्षति भएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।