बाजुरा
साउन १७ –
बाजुरामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् ।
गौमुल गाउँपालिकामा पहिरोले घर पुरिंदा आमा–छोरीको मृत्यु भएको हो ।
गएराति साढे १२ बजेतिर पहिरो जाँदा जंगे चदाराको घर पहिरोले पुरिएको हो ।
राती सुतीरहेको बेला पहिरोले घर पुरिंदा ३० वर्षका निरुता चदारा र उहाँका छोरी ६ वर्षका किस्मीता चदाराको मृत्यु भएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिनुभयो ।
सँगै सुतिरहेका घर मुली जंगे चदारा भने गम्भीर घाइते हुनुभएको छ ।
पहिरोमा पुरिंदा सुके चदारा, जडेनी चदारा, अस्मिता चदारा र विकास चदारा घाइते हुुनुभएको छ । चार जना घाइतेको अवस्था सामान्य छ ।
घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।
वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिनुभयो ।
लगातारको अत्याधिक बर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण भएको क्षति विवरण बारे जानकारी लिन प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
राती १ बजे नै गौमुल इलाका प्रहरी कार्यालयबाट टोली उद्धारको लागि गएको थियो ।
भूगर्वविद्हरुले नै शसालाको सिंगो बस्ती पहिरोको उच्च जोखिममा रहेकोले बस्ती सार्न सुझाव यस अघि नै दिएका थिए । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा छन् ।