कालिदास आत्रेय
साउन २०
छत्रकोट गाँउपालिका ६ दौघा गुल्मीमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
नग पञ्चमीको अवसरमा आज स्थानियले तिज बिशेष कार्यक्रम गरेका हुन । सबिकको दौघा गाबिस
७ भयरथान बराहा मन्दिरमा तिज बिशेष कार्यक्रम गरिएको थियो ।
दौघा र आसपासका महिलाले तिज गीत कार्यक्रम गरेका थिए । तिज संस्कृतीको मौलिकता
उजागर गर्न कार्यक्रम गरिएको हो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज विशेष श्रद्धापूर्वक मनाईन्छ ।
आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ । बराह पुराणमा
उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन
नागपूजाको लागि प्रसिद्ध रहेको छ ।
यस दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट एवं शंख नागको चित्रमा
दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवैद्य चढाई घरको मूल ढोकामाथि टाँसिन्छ ।
नागको चित्रमा लेखिएको हुन्छ ।
अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षकस् । कुलिरस् कर्कटस् शंखश्चाष्टौ नागास् प्रकीर्तितास् ।।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारकास् ।।
मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र
चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ ।
आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ । हिन्दू धर्मका चाडपर्वहरू पनि
नागपञ्चमीबाटै सुरु हुन्छन् ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि
नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक विश्वास रही आएको छ ।
घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई
निरन्तरता दिइँदै आएको छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ ।
शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले पनि
नागलाई पुजिएको हो । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति
कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा गरेको भन्ने लोककथन पनि छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा
प्रख्यात किंवदन्ती यस्तो छ ।
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा
आफ्ना सबै सन्तान मरेको देखेर क्रुद्ध भइन् ।
रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकाले किसानको घरमा गएर किसानकी श्रीमती एवं
दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् ।
नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले
अनुनय–विनय गरी मलाई नमार्नुहोस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी
किसानकी छोरीलाई छाडिदिइन् ।
मृत्युको मुखबाट बच्न सकेकोमा प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् ।
किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग, भनेपछि किसानकी छोरीले
आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन
श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको हो ।
त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले
गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएपछि गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि
धर्मशास्त्रहरूमा उल्लेख छ ।
प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव
पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने नियम बसालेको कुरा अध्येताहरू बताउँछन् ।