साउन २२
गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलो–लुम्पेकमा कमजोर चट्टानका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
उक्त पहिरोबारे स्थलगत अध्ययनपछि खानी तथा भूगर्भ विभागको पहिरो शाखाका भूगर्भविद् राजेन्द्र आचार्यले ठूलो–लुम्पेकमा
पहिरो जानुमा कमजोर चट्टान प्रमुख कारण देखिएका बताए ।
“भिरालो जमीन, साना पाटा र जतापट्टि पहाड फर्कियो उतै पट्टि चट्टान फर्किएको छ, भारी वर्षा हुँदा जमीनले थाम्न नसकेर
खसेको देखिन्छ र धेरै ठाउँमा बस्ती बसाउन सक्ने अवस्था छैन”, आचार्यले भने ।
सत्यवती गाउँपालिका–३ मा ठूलो–लुम्पेक पर्छ । उक्त क्षेत्रमा दर्जनाँै पहिरो गएको छ । जोखिम क्षेत्रमा बस्ती बसेको विज्ञले
बताएका छन् । चट्टान कमजोर र भिरालो क्षेत्र भएकाले एउटा पाटो झरेपछि त्यसले थिच्दै–थिच्दै झरेको छ ।
कतिपय ठाउँमा सडक निर्माणले पनि पहिरो झरेको देखिएको टोलीले बताएको छ । ठूलो–लुम्पेकमा भने बस्ती बसाउन
जोखिम हुने टोलीको निष्कर्ष छ ।
सत्यवती गाउँपालिका–४ लिम्घाको पहिरोका प्रकृति अलि फरक रहेको टोलीले जनाएको छ । त्यहाँ एउटा पहिरो खसेको भए पनि
मानवीय क्षति बढी भएको छ । पहाडको भित्तामा घर बनाएको र माथिबाट पहिरो आउँदा एकैचोटी लेदोसहित बाढी बनेर आएको देखिने
अध्ययन टोलीले बताएको छ ।
“लिम्घामा चट्टान चिरा पर्ने र ढुङ्गा खस्ने खालको रहेको देखिन्छ, खोल्सोजस्तो भएकाले वर्षा हुँदा भलबाढी आउने ठाउँमा केही घर परे”,
आचार्यले थपे । पहिरो धेरै खसेको ठूलो लुम्पेकमा पाँच र पहिरो कम खसेको लिम्घामा आठ जनाले ज्यान गुमाएका थिए ।
सरकारले पहिरो जानुको कारणसँगै सो क्षेत्रमा बस्ती बस्न ठीक छ कि छैन भनेर भौगर्भिक अध्ययनका लागि गत शुक्रबार दुई जना
विज्ञलाई पहिरोग्रस्त क्षेत्रमा पठाएको थियो ।
स्थलगत अध्ययनको काम सकेको र काठमाडौँमा फर्किएपछि सङ्कलित विवरणको आधारमा पूर्ण प्रतिवेदन तयार पारी सरकारलाई
बुझाउने टोलीले जनाएको छ । अध्ययनमा आचार्यसँगै अर्का भूगर्भविद् सुलभ कायस्थसमेत सहभागी रहेका छन् ।
साउन ७ गते बिहान पहिरो खस्दा गुल्मी सत्यवती गाउँपालिकाको वडा नं ३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा गरी १३ जनाको
मृत्यु भएको थियो । सयौँ घर उच्च जोखिममा परेको छ । एक हजारभन्दा बढी विस्थापित भएका छन् ।
बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण ४ बजेदेखि पहिरो खस्न थालेको थियो ।
दुई घाइते र १८ घर पूर्ण क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार पहिरोका कारण ३०७ घर उच्च जोखिममा छ । पहिरोले एक हजार २६० स्थानीय विस्थापित छन् ।
पहिरो क्षेत्रमा पुनःनिर्माणको काम अघि बढेको प्रजिअ पौडेलले बताए ।
रासस