साउन २२
भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा पूर्व विदेश मन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
स्वराजको न्यू दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।
सुषमा स्वराजको निधनमा भारत र विश्वभरिबाट नै ठूला नेताहरुले दुःख व्यक्त गरेका छन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत ठूला नेताहरु स्वराजको घरमै पुगेर श्रद्धाञ्जली दिनु भएको थियो ।
सुषमा स्वराजको अन्तिम संस्कार यात्रामा पनि निकै ठूलो भीड लागेको थियो ।
प्रधानमन्त्री मोदी, लालकृष्ण अडवाणी, उपराष्ट्रपति एम वेंकैया नायडू, राजनाथ सिंह, भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेलगायतले विजेपी मुख्यालय पुगेर सुषमा स्वराजको अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
त्यस्तै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि विजेपी मुख्यालय पुगेर सुषमा स्वराजप्रति अन्तिम संस्कार प्रदान गर्नु भएको थियो ।
यसैबिच भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताले दुःख प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
विपक्षी दलका नेता देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई बुधबार छुट्टाछुट्टै समवेदनापत्र पठाउँदै दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वराजको योगदानको स्मरणसमेत गरेका छन् ।
देउवाले स्वराजको पारिवारिक सदस्यसहित भारतीय जनताप्रति समवेदना प्रकट गरेका छन् ।
सुषमा स्वराजको निधनलाई लिएर भारत र विश्व राजनीतिले अपूरणीय क्षति भएको बताएका छन् ।