गुल्मी
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा एपीएफका गोविन्द खत्री र
महिलामा गुल्मीकी सविना श्रेष्ठलाई आईटीएफ वर्ष खेलाडी– २०७५ अवार्डबाट सम्मान गरेको छ ।
गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आईटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए ।
सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आइटीएफ तेक्वान्दो तथा सिंगापुरमा भएको आमन्त्रित अन्तर्राष्ट्रिय
तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।
उत्कृष्ट प्रशिक्षकमा नेपाल आर्मीका उमेश राजथला पुरस्कृत भए । उनकै प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा
आर्मीले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । विजय श्रेष्ठले ‘आउट स्टेन्डिङ’ अवार्ड हात पारे ।
महासंघका उपाध्यक्ष समेत रहेका विजयले आईटीएफ तेक्वान्दोको विकास र विस्तारमा उल्लेखनीय योगदान पुयाएकाले
सो अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष अञ्जन धमलाले जनाएका छन् । यो विधा पहिलो पटक समावेश गरिएको हो ।
विजय प्रतियोगिता विभागका प्रमुख पनि हुन् ।
रोल्पा जिल्ला उत्कृष्ट संघ ठहरियो ।
वर्ष २०७५ मा रोल्पा जिल्लाले प्रदेश स्तरीय रेफ्री सेमिनार, प्रोफेसनल तेक्वान्दो प्रतियोगिता र प्रदेशस्तरीय प्रतियोगिता
आयोजना गरेको थियो । सो अवार्ड रोल्पा जिल्लाका अध्यक्ष विक्रम पाठा मगरले ग्रहण गरे ।
पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय सांसद् श्यामकुमार श्रेष्ठ, नेपाल खेलकुद महासंघका सह–संयोजक
शिव कोइराला (ज्वाला) लगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे ।
महासंघको २२ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
महासंघले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको छ । त्यस अवसरमा महासंघले
रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।