चितवन
साउन २६ –
सुन्दा अचम्म लाग्न सक्छ । अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ।
पछिल्लो समय यस्ता घटना दोहोरी रहेका छन ।
सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल लगेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्।
प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो ।
घर पुगेपछि अर्को शिशुको पनि मृत्यु भएको भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो। मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो।
शंकास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उहाले जानकारी दिनुभयो।
अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटना शुक्रबार भएको हो। गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो। घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाले बताउनुभयो।
अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन।