काठमाडौ
साउन २७ –
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार (आज) मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।
मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश नं २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ ।
दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो ।
यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।
यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो ।
यसैबिच इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद , बकर इदको अवसरमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले देशको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्द्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बकर इद पर्वको शुभकामना दिँदै यो पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास लिनुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।
ईद–उल– अज्हा बकर ईद को अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहु सांस्कृतिक देश भएकोले यहाँका सबै जाति र संस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन्।