काठमाडौ
साउन २७ –
सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीसहितको टोली मध्यान्ह् करिब साढे १२ बजे थाई एयरवेजको विमानबाट काठमाडौँ आउन लागेको हो । यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।
स्वास्थ्य परीक्षण लम्बिएका कारण फर्किने कार्यक्रम आजका लागि सरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सिङ्गापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएको जनाइएको छ ।
प्रधानमन्त्री ओली गत साउन १८ गते आफ्नो स्वास्थ्य परीक्षणका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्यान्डमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए । तर यसपटक उनी चिकित्सकको सल्लाहअनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।