धादिङ
साउन २८ –
गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी जिल्लाहरुसँग आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वी नवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।
बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो ।
वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गत शुक्रबार सर्लाहीको मलंगवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।
बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका बेपत्ता भएको प्रहरीलृ आशंका गरेको छ ।
खोजीकार्य गर्न हिँडेर मात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत खोजी कार्यमा सघाउन जिल्ला प्रशासन कार्यालय, धादिङले आग्रह गरेको छ ।