नवलपरासी
साउन २९ –
नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उहाले बताउनुभयो ।
पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।