पाल्पा
भदौ ४ –
पाल्पा , नवलपरासी, र चितवनमा भएका छुट्टाछट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।
पाल्पामा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।
पाल्पाको तानसेन नगरपालिका– १२ बौघा पोखराथोकका २१ वर्षीय हेमबहादुर रानाको मंगलबार अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घर नजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेपछि घाइते भएका थिए । घाइते रानाको उपचारको क्रममा युनाइटेड मिशन अस्पतालमा ज्यान गएको हो ।
यस्तै नवलपरासीको ज्यामिरेमा ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ जादै गरेको आरजे०५जिबी ४१६७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । ट्रक आफैं अनियन्त्रित भएर सडकछेउ विद्युतको पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो । चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उहाले जानकारी दिनुभयो ।
यस्तै जिपको ठक्करबाट चितवनमा एक पुरषको मृत्यु भएको छ। करिब ३५ वर्षीय पुरुषको सनाखत हुने नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको बा १८ च ९८९६ नम्बरको जिपले विपरीत दिशाबाट गइरहेको साइकल यात्रीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मी नारारायण चोकमा ठक्कर दिएको थियो। ठक्करबाट घाइते साइकलयात्रीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव भरतपुर अस्पतालमा राखिएको छ।
पाल्पा , नवलपरासी, र चितवनमा भएका छुट्टाछट्टै घटनामा ३ जनाको मृत्यु