पाल्पा
भदौ ७ –
पाल्पाको तानसेनमा शनिबार श्री रण उजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सव मनाइँदै छ ।
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार पाल्पाको तानसेनमा श्री रण उजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सव मनाउन लागिएको हो । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको छ । अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइँमा युद्धमा जानुअघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।
पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको सम्झनामा विक्रम संवत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो । यस वर्षको जात्रा २०१ औं संस्करणको हो। साइत अनुसार शनिबार दिउँसो पौने एक बजे भगवतीको रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष उदयले जानकारी दिनुभयो । नेपाली सेनाले सलामी चढाएलगत्तै स्वस्ती वाचन गरेर रथ यात्राको प्रारम्भ हुने उहाले बताउनुभयो ।
जिल्लास्थित सरकार कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले आफ्नो पहिचान झल्कने झाँकी र्यारली प्रस्तुत गर्नेछन्। जात्राको क्रममा लाखे नाच, वालन नाच, छोकडा नाचको समेत देखाइने छ। पञ्चेबाजा र भजनकीर्तकाबीच रथलाई तानसेन बजार परिक्रमा गराइने छ। जात्रा अवलोकनका लागि छिमेकी जिल्ला स्याङ्गजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वतलगायतका जिल्लाहरुबा हजारौंको संख्यामा दर्शकहरु पुग्ने गर्दछन्।
समितिका सचिव भिमसेन कार्कीका अनुसार जात्राको अघिल्लो दिन राति आतिसवाजी, लाखेनाचसँगै भगवतीको रथ उचालेर बली दिइएको छ । रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र अर्को दिन बिहानैदेखि पूजापाठ गरी रथलाई बजार परिक्रमा गराउने चलन रहेको सचिव कार्कीले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको इतिहास जोडिएको भगवती जात्रामा सबै जाति, धर्म र समुदायको सक्रिय सहभागिता रही आएको छ ।