पाल्पा
भदौ ७ –
पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवतीको २०१ औँ विजयउत्सव मनाइएको छ ।
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार २०१ औँ विजयउत्सव मनाइएको हो ।
विजय उत्सवमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र थापाको उपस्थिति रहेको थियो ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आएको छ ।
अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।
पाँच ओटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार ब्यहोर्नु परे पनि जितगढीको यु्द्धमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।
त्यसैको सम्झनामा विक्रम सम्वत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
आज दिउसो पौने एक बजे उठाइएको रथले बजार परिक्रमा गरेको थियो ।
जात्राको अघिल्लो शुक्रबार आतिसबाजी, लाखेनाचसँगै भगवतीको रथ उचालेर बली दिइएको थियो ।
रातभर जाग्राम बसेर भगवतीको महिमा गाइएको र शनिबार बिहानैदेखि पूजा पाठ गरी रथलाई बजार परिक्रमा गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।
शुभसाइतमा सेनाको कर्णेलको पूजा र प्रमुख जिल्ला अधिकारीको सरकारी पूजा पछि पन्चेबाजासहितको र्यालीले भगवतीको रथलाई पाल्पा दरबार परिसर हुँदै बजार परिक्रमा गरेको थियो । भगवतीको मूर्ति राखेर बजार परिक्रमा गराइने रथ बोक्न ४२ भन्दा बढी कुमाल समुदायका पुरुषहरु खटिँदै आएका छन् ।
साँस्कृतिक झाँकीसहितको र्यारलीका साथमा बजार परिक्रमा गराइने रथको अघिपछि नेपाली सेना, प्रहरी, निजामति कर्मचारी, खेलाडी , विद्यार्थी, स्थानीय संघ संस्थाका प्रतिनिधि, भक्तजन लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय गौरवको इतिहास जोडिएको भगवती जात्रामा सबै जाति, धर्म र समुदायको सक्रिय सहभागिता रही आएको छ ।