काठमाडौ
भदौ ८ –
आज देशभर मौसम बदली रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशको पश्चिमी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती स्थानमा यात्रा गर्दा सर्बसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युनचापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको र बंगालको खाडीमा उडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यूनचापीय वायुप्रणाली रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका मध्य र पश्चिमी भूभागका धेरै स्थानमा बदली भइ केही स्थानमा वर्षा भइरहेको र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।
आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिम भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जनाइएको छ ।
सोमबार र मंगलबार पनि मौसममा बदली हुने मेघ गर्जन तथा चट्यांङ्गको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती स्थानमा यात्रा गर्दा सर्बसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।